Logo
Logo

बाल संगठन जग्गा प्रकरणको फाइल खुल्दै


630
Shares

काठमाडौं । नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनमा लैजाने भएपछि अनुसन्धान पुनः व्यूतिने भएको छ । यसअघि बालमन्दिरको जग्गा हिनामिनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) गरेको थियो ।

तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको आरोपमा सिआइबीले जाहेरी लिएर अनुसन्धान गरेको थियो । कांग्रेस–एमाले गठबन्धन सरकारका कारण उक्त फाइल अघि बढेको थिएन । नयाँ सरकार गठनसँगै पुरानो मुद्दामा सिआइबीले पुनः चासो देखाएको छ ।

संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पति स्कूललाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता भएको थियो ।

सो प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह, तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपमहासचिव सुमन शाक्य छन् । तत्कालीन सदस्य एवम् स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, श्यामकुमार आले, बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव सुवास कुमार पोखरेल, तत्कालीन कोषाध्यक्ष श्री मनोहर गोपाल श्रेष्ठ, तत्कालीन महासचिव प्रचण्डराज प्रधान छन् ।

यसैगरी, तत्कालीन महासचिव रामकाजी कोने, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठले उन्मुक्ति पाइसकेका छन् ।

कयस्तै, बृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, सञ्चालक प्रविणराज जोशी, तत्कालीन सञ्चालक मुरारी निधि तिवारी, अध्यक्ष पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, सञ्चालक अभिनव सिंघानिया, सञ्चालक सिद्धार्थ केडिया, सञ्चालक कीर्तिप्रसाद पाण्डेले पनि उन्मुक्ति पाएका थिए । सिआइबीले यो मुद्दालाई पुनः अनुसन्धानको तयारी गरिरहेको स्रोतले बताएको छ ।

२०२१ मंसिर १७ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले तत्कालीन राणा परिवार (अहिले बाल मन्दिरको रहेको) को ११९ रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरी सरकारको नाममा ल्याएको थियो । त्यसपछि अनाथ तथा असहाय बालबालिकाको रेखेदख एवं संरक्षणका लागि भन्दै बालमन्दिर स्थापना गरिएको थियो ।

उक्त जग्गा बालमन्दिरले नै भोगचलन गर्दै आएकोमा २०४९सालबाट जग्गा भाडामा लगाउने नाममा हिनामिनाको क्रम सुरु भएको थियो । २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गामा बृहस्पतिले रजगज गरेको देखिएको हो ।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन् ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको थियो । २०४८ को आम निर्वाचनपछि बनेको सरकारले रीता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति गरेको थियो ।

वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् । वैद्य संगठनमा छिरेसँगै बृहस्पति विद्या सदन पनि बाल मन्दिरमा भित्रिएको हो । हिनामिनाको विषय बाहिरिएपछि नेपाल बाल संगठनले आन्तरिक छानबिन र विगतका अध्ययन प्रतिवेदनका आधरमा बृहस्पति विद्या सदनसँग विसं २१३१ सम्म लिजमा दिनेगरी भएको सम्झौता समेत रद्द गरेको थियो । बालसंगठनले समग्र जग्गा अनियमितताबारे अनुसन्धानको लागि जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्