काठमाडौं । लामो समयदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि राम्रोसँग अनुसन्धान हुन सकेको छैन । झा पक्राउ लगत्तै तत्कालीन माओवादी नेतृत्वको सरकार परिवर्तन भएपछि उक्त काण्डको अनुसन्धान नै नभई थुनछेकको बहसमार्फत झालाई थुनामा पठाइएको थियो । झाको कनेक्सन राजनीतिको उच्च तह अर्थात सोझै आरजु राणासम्म पुग्ने बताइएको सो प्रकरणमा पक्राउ परेका झालाई थुनामा पठाएर आरजु पक्राउ पर्र्नबाट जोगिएकी थिइन ।

प्रहरीले यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत पुनः अनुसन्धान गर्नेगरी निर्देशन जारी गरिसकेको स्रोतले बताएको छ ।
प्रहरीले २०८१ असार १६ गते झालाई पक्राउ गरेपछि उक्त काण्डबाट जोगिन आरजुले प्रचण्डको सरकार ढालेर एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएकी थिइन् । त्यसलगत्तै असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा पनि मुछिएका थिए । उनको विषयमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन । छोरा प्रतिक थापा भने अहिले पनि थुनामा रहेका छन् ।
भुटानी शरणार्थीको मुद्दा दायर भएको १३ महिनापछि बेचन पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै यसको थप राजनीनिक कनेक्सन खोतल्न सहज हुने अनुसन्धान अधिकृतहरुको विश्वासमा तत्कालीन सरकार परिवर्तनसँगै ह्रास आएको थियो ।
पहिले नाम, थर र ठेगाना नखुलेकाले खुलेका बखत थप अनुसन्धान गर्ने गरी अभियोग लगिएकाले उनलाई फेरि ६० दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्ने प्रहरीलाई मौका भए पनि हतार हतारमा अदालत बुझाएर आरजुलाई जोगाएको बुझिएको छ ।
शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । तर, नाम र काठमाडौँमा बस्ने ठेगाना बाहेक अनुसन्धान अधिकृतहरूले उनको बारेमा अरु सुराक पाउन नसकेका बेला उनी फरार भएका थिए ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा ठगेको आरोपमा टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसी अहिले पनि थुनामा रहेका छन् । दाङ घर भएका ५१ वर्षीय रामशरणसँग बेचन झाले दुई करोडको चेक लिएका थिए । त्यसको प्रमाण समेत फेला परेपछि उनी फरार भएका हुन् ।
भुटानी शरणार्थी प्रकरणको योजनाकारमध्येका एक सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।
‘निर्णय गराउन’ मन्त्रिपरिषदबाटै गराउने भन्दै बेचनले चेक लिएका थिए ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषदबाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ’, केसीले आफ्नो बयानमा भनेका छन् ।
रामशरणले सानु भण्डारीलाई बैंक मार्फत १ करोड ३४ लाख, केशव दुलाल मार्फत पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई १ करोड ५० लाख बुझाएको बयान दिएका छन् । यो विषयमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलमाथि पनि अनुसन्धान भएको छैन । टोपबहादुर रायमाझी अहिले पनि जेलमा रहेका छन् । बादलमाथि किन अनुसन्धान नहुने भन्दै प्रश्न उठिरहेको बेला प्रहरीले फाइल खोल्न लागेको हो ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए । हाल पुर्पक्षमा रहेका तत्कालीन गृह सचिव पाण्डेले भनेका छन्, ‘मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’
प्रहरी अधिकारीहरु पनि बेचनको राजनीतिक कनेक्सन हुन सक्ने बताउँछन् । उनको मधेश केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको अनुसन्धान अधिकारीहरु दावी छ । काठमाडौंको नयाँ बानेश्वरमा घर भएका उनी निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको कामकै क्रममा उनले राजनीतिक व्यक्तिसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरुको दावी छ ।
सर्वोच्च अदालतले २८ असार २०७८ मा संसद् विघटन खारेज गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचनको प्रवेश भएको थियो । ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो ।
उक्त प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । तर यही बीचमा सरकार परिवर्तन भएको थियो र त्यसमा बेचन पनि जोडिएका थिए । सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवायलयमा बसेर काम गरेका केशव दुलाल र बेचनबीच चिनजान थियो । दुलालमार्फत नै बेचन नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थिए । उनको सम्पर्क पछिल्लो समय शेरबहादुर देउवापत्नी आरजुसँग रहेको बताइएको थियो ।











