काठमाडौं । इरानसँगको युद्ध सुरु भएको एक महिनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रणनीति असफल हुदै गएको देखिएको छ । पछिल्लो पटक उनले करिब १९ मिनेटको भाषणमा इरानको हवाई शक्ति ध्वस्त बनाएको र अब उसँग जवाफ दिने क्षमता नरहेको दाबी गरेका थिए ।

ट्रम्पले इरानको आकाशमा अमेरिकाको नियन्त्रण रहेको र आफ्ना युद्ध विमान तेहरानमाथि उडिरहेको पनि बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यस्तै दाबी गरेका छन् । तर पछिल्ला घटनाक्रमले भने फरक तस्बिर देखाइरहेका छन् ।
पछिल्लो २४ घण्टामा अमेरिकाका दुई सैन्य विमान र उद्धार कार्यमा खटिएका दुई ब्ल्याकहक हेलिकोप्टर इरानी आक्रमणको निशाना बनेका छन् । समाचार संस्था एपीका अनुसार २३ वर्षपछि पहिलोपटक अमेरिकी लडाकु विमान शत्रुको आक्रमणमा खसालिएका हुन् । यसअघि सन् २००३ मा इराक युद्धका बेला यस्तो घटना भएको थियो ।
यस युद्धमा अहिलेसम्म ७ अमेरिकी विमान नष्ट भइसकेका छन् । मार्च २ मा कुवेतमा आफ्नै गोली प्रहारबाट तीनवटा एफ-१५ विमान खसेका थिए, जसका सबै चालक दल सुरक्षित थिए । मार्च १२ मा इराकमा इन्धन बोक्ने विमान दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो । मार्च २७ मा साउदीस्थित प्रिन्स सुल्तान हवाई आधारमा एउटा निगरानी विमान नष्ट भएको थियो । अप्रिल ३ मा एफ–१५ र ए–१० विमान शत्रुको आक्रमणमा परेका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार पहिलो आक्रमण एफ–१५ई लडाकु विमानमाथि गरिएको थियो, जुन इरानको दक्षिण–पश्चिम क्षेत्रमा उडिरहेको थियो । त्यसपछि चालक दलको खोजीका लागि पुगेको ए–१० आक्रमण विमान पनि निशानामा परेको थियो । पाइलट भने सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका छन् ।
एफ–१५ ई मा रहेका दुईमध्ये एक जना सुरक्षित निकालिएका छन् भने अर्को अझै बेपत्ता रहेको बताइएको छ । उद्धारका लागि पठाइएका दुई ब्ल्याकहक हेलिकोप्टरमाथि पनि आक्रमण भए पनि त्यसमा रहेका सबै सैनिक सुरक्षित रहेको जनाइएको छ ।
विशेषज्ञहरूका अनुसार अमेरिकासँग इरानको आकाशमा केही हदसम्म बढत भए पनि पूर्ण नियन्त्रण भने छैन । इरानको हवाई प्रतिरक्षा प्रणाली कमजोर भए पनि पूर्ण रूपमा नष्ट भएको छैन । विशेषज्ञहरूले इरानले ‘असमान युद्ध’ रणनीति अपनाएको बताएका छन् । सिधा युद्धमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन भएकाले इरानले कम स्रोत प्रयोग गरेर बढी क्षति पुर्याउने तरिका अपनाइरहेको छ । त्यसैले आकस्मिक र अप्रत्याशित आक्रमण भइरहेको बताइएको छ ।
इरानले प्रयोग गरिरहेको ‘मजिद’ नामक हवाई प्रतिरक्षा प्रणाली विशेष चर्चामा छ । यो प्रणालीले कम उचाइमा उड्ने लक्ष्यलाई इन्फ्रारेड प्रविधिबाट पहिचान गरी प्रहार गर्न सक्छ । यसको मार गर्ने दूरी करिब ८ किलोमिटर र उचाइ ६ किलोमिटरसम्म रहेको छ । यो प्रणाली मोबाइल भएकाले एक स्थानबाट अर्को स्थानमा छिटो सार्न सकिन्छ । यसलाई ‘प्रहार गर र तुरुन्त हट’ रणनीतिमा प्रयोग गरिन्छ, जसले यसको स्थान पत्ता लगाउन कठिन बनाउँछ ।
रिपोर्टअनुसार निरन्तर आक्रमणका बाबजुद इरानका करिब आधा मिसाइल प्रक्षेपक अझै सुरक्षित रहेका छन् । केही विश्लेषकले इरानले थप उन्नत प्रविधि पनि प्रयोग गरिरहेको हुनसक्ने बताएका छन् । युद्ध सुरु भएको ३५ दिन बितिसक्दा पनि इरानको रणनीति पूर्ण रूपमा बुझ्न अमेरिका सफल हुन सकेको छैन ।











