
एजेन्सी । अमेरिका र इरानबीच दुई साताको युद्धविराम सहमति भएसँगै विश्वबजारमा तेलको मूल्य घटेको छ । अमेरिका–इरानबीच महत्त्वपूर्ण होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने सहमति भएसँगै विश्वबजारमा तेलको मूल्य घटेको छ भने शेयर बजारमा सुधार देखिएको छ ।
ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य करिब १५.९ प्रतिशत घटेर प्रतिब्यारेल ९२.३० डलरमा पुगेको छ भने अमेरिकी तेलको मूल्य पनि झन्डै १६.५ प्रतिशत घटेर ९३.८० डलरमा झरेको छ । यद्यपि, २८ फेब्रुअरीमा द्वन्द्व सुरु हुनुअघि रहेको करिब ७० डलरको स्तरभन्दा मूल्य अझै उच्च छ ।
इरानले जलडमरु प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वबाट तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो, जसका कारण ऊर्जा मूल्य बढेको थियो ।
युद्धविरामको खबरसँगै एसिया–प्रशान्त क्षेत्रका शेयर बजारमा वृद्धि देखिएको छ । जापानको निक्केई २२५ सूचकांक ४.५ प्रतिशतले बढेको छ भने अस्ट्रेलियाको एएसएक्स २०० सूचकांक २.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सहमतिअनुसार दुई सातासम्म आक्रमण स्थगित गर्ने बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि इरानमाथि आक्रमण रोकिए युद्धविराम मान्य हुने र होर्मुज जलडमरु सुरक्षित रूपमा सञ्चालन गर्न सकिने बताएका छन् ।










