काठमाडौं । मेटलाइफ फाउन्डेशनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (CIGP) अन्तर्गत नेपालका दुई गैरसरकारी संस्थासहित विश्वभरका संस्थाहरूलाई सामुदायिक आवश्यकताहरू सम्बोधन गर्न अनुदान उपलब्ध गराएको छ।

फाउन्डेशनले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, यस कार्यक्रममार्फत नेपालसहित विभिन्न देशका गैरनाफामुखी संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरिएको छ। कार्यक्रमको उद्देश्य समुदायका आधारभूत आवश्यकता सम्बोधन गर्नुका साथै आर्थिक स्वास्थ्य, सामाजिक दिगोपन र अवसरमा पहुँच विस्तार गर्नु रहेको बताइएको छ।
मेटलाइफ फाउन्डेशनका अनुसार, यो कार्यक्रम सन् २०२३ मा सुरु भएको हो भने २०२५ देखि विश्वव्यापी रूपमा विस्तार गरिएको हो। कार्यक्रमअन्तर्गत खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, समग्र कल्याण, वातावरणीय दिगोपन र सशक्त समुदाय निर्माण जस्ता क्षेत्रमा काम गर्ने संस्थाहरूलाई प्राथमिकतामा राखिएको छ।
यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाहरू अनुदानका लागि छनोट भएका छन्, जसमा नेपालका सोलुचाम र सोसेक नेपाल पनि परेका छन्।
नेपालका कुन संस्थाले कति पाए?
सोलुखुम्बुस्थित सोलुचाम ले आफ्नो ‘अबेक’ परियोजना सञ्चालनका लागि दुई वर्षका लागि १ लाख १० हजार अमेरिकी डलर अनुदान प्राप्त गरेको छ। यस परियोजनामार्फत सोलुखुम्बुका ३ हजारभन्दा बढी व्यक्तिलाई वातावरणसम्बन्धी तालिम दिइनेछ। कार्यक्रममा फोहोर व्यवस्थापन, वृक्षारोपण, पानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी गतिविधि समावेश हुने जनाइएको छ।
त्यस्तै, सोसेक नेपाल ले आफ्नो ‘सेफ’ कार्यक्रम सञ्चालनका लागि दुई वर्षका लागि १ लाख ९० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेको छ। यो कार्यक्रममार्फत किसान, युवा र साना व्यवसायीहरूका लागि दीर्घकालीन खाद्य सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। यसअन्तर्गत सुधारिएको कृषि अभ्यास, सीप विकास, आर्थिक दिगोपन र स्वास्थ्य सेवाको एकीकरण मा काम गरिने बताइएको छ।
‘समुदायलाई थप सक्षम बनाउने प्रयास’
मेटलाइफ फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेस ले कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राममार्फत व्यक्तिहरू र समुदायको समग्र कल्याण सुधार गर्ने संस्थाहरूमा लगानी गरिएको बताएकी छन्।
उनले भनिन्,“हामी यस्ता संस्थाहरूमा लगानी गरिरहेका छौं, जसले व्यक्ति र परिवारलाई चुनौती पार गर्न, अझ स्थिर बन्न र अवसरहरूमा पहुँच विस्तार गर्न मद्दत गर्छन्।”
फाउन्डेशनका अनुसार, अघिल्ला वर्षहरूझैं यसपटक पनि मेटलाइफका कर्मचारीहरू अनुदान छनोट प्रक्रियामा प्रत्यक्ष संलग्न भएका थिए। उनीहरूले विभिन्न संस्थाबाट प्राप्त आवेदनहरूको समीक्षा गरी लाभग्राही छनोटमा भूमिका खेलेका थिए।
हालसम्म ९ मिलियन डलरभन्दा बढी सहयोग
कार्यक्रम सुरु भएयता मेटलाइफ फाउन्डेशनले २०७ संस्थालाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी अनुदान उपलब्ध गराइसकेको जनाएको छ। यसबाट अमेरिका, एसिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका १६ लाखभन्दा बढी मानिस लाभान्वित भएको दाबी गरिएको छ।
फाउन्डेशनले यो कार्यक्रमलाई समावेशी आर्थिक अवसर विस्तार, आर्थिक स्वास्थ्य प्रवर्द्धन र दिगो समुदाय निर्माण गर्ने आफ्नो दीर्घकालीन रणनीतिक प्रतिबद्धताको महत्वपूर्ण हिस्सा भनेको छ।
मेटलाइफ फाउन्डेशन सन् १९७६ मा स्थापना भएको हो। यसले आर्थिक सशक्तिकरण, वित्तीय स्वास्थ्य र लचिलो समुदाय निर्माणलाई केन्द्रमा राखेर विभिन्न गैरनाफामुखी संस्थासँग सहकार्य गर्दै आएको छ। स्थापना भएयता फाउन्डेशनले विश्वभरका समुदायलाई सशक्त बनाउन १ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेको जनाएको छ।










