Logo
Logo

सभापतिलाई पक्राउ गरियो भने कांग्रेसले प्रतिवाद गर्छ : महामन्त्री राणा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाविरुद्ध सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताएका छन् ।  नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रमका क्रममा आयोजित कार्यक्रममा बोल्दै राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकार विपरीत रहेको बताएका हुन् ।   

The current image has no alternative text. The file name is: udya-samser-rana.jpg

राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको बताउँदै थापामाथि कुनै पनि प्रतिशोधपूर्ण कदम चाले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । उनले पार्टीका नेता तथा कार्यक्रताहरुलाई त्यसका लागि तयार रहन आग्रह समेत गरेका छन् । 

महामन्त्री राणाले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा मानिसहरूलाई पक्राउ गर्न दबाब दिएको दाबी गरेका छन् । आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ । आईजीपी कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको उनको दाबी रहेको छ । 

सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको बताएका छन् । सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ । राज्यका प्रमुख अङ्गलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने उनको भनाइ छ । प्रधानमन्त्री वालेन शाहले तानाशाही प्रवृत्ति लागू गर्न खोजिरहेको आरोप लगाउँदै राणाले त्यसको प्रतिरोधका लागि सबै सचेत नागरिक सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए । 

देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000