Logo
Logo

लुम्बिनीमा विद्युतीय बस चलाउने प्रयास फेरि असफल


1.2k
Shares

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन ६ वर्षअघि ल्याइएका विद्युतीय सवारीसाधन अझै पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । एसियाली विकास बैङ्क (एडिबी) को अनुदानमा प्राप्त ५ वटा अत्याधुनिक बस र १४ वटा भ्यान उचित कार्यविधि र मर्मतको अभावमा थन्किएका हुन् ।

नयाँ सरकार बनेसँगै चैत १८ र १९ गते दुई दिन यी बस चलाइएका थिए । तर, प्राविधिक समस्याका कारण पुनः बन्द भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए ।

१३ करोड मूल्यका यी सवारीसाधन लामो समय घाम र पानीमा थन्किँदा अधिकांशको एसी र अन्य पार्टपूर्जा बिग्रिएका छन् । कोषका अनुसार मर्मतका लागि मात्रै करिब एक करोड रुपैयाँ लाग्ने अनुमान छ । ती बसलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ ।


२०७७ साल मङ्सिर ९ गते एडिबीको अनुदान सहयोगमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत पाँच वटा अत्याधुनिक विद्युतीय बस र १४ वटा भ्यान लुम्बिनी ल्याइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विक्रम संवत् २०७९ जेठ १२ गते लुम्बिनी विकास कोषलाई ती विद्युतीय सवारी हस्तान्तरण गरेको थियो । करिब १३ करोड रुपैयाँ बराबरका यी सवारीसाधनले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने र पर्यटकलाई सहज यात्रा सेवा दिने लक्ष्य राखिएको थियो ।

ती योजना बर्सौंसम्म कागजमै सीमित रह्यो । कहिलेकाहीँ सरकारी निर्देशन आउँदा दुई/चार दिन चलाइन्थ्यो, फेरि थन्क्याइन्थ्यो । खुला आकाशमुनि बर्सौंदेखि थन्किएका बस र भ्यान घामपानीले चल्नै नसक्ने अवस्थामा छन् । अधिकांश बसका एसी बिग्रिसकेका छन् । झ्याल खोल्न नमिल्ने संरचना भएका ती बस एसीबिना चलाउनै कठिन छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी बस्नेत भन्छन्, ‘एसी नबनाई बस सञ्चालन गर्न गाह्रो छ तर मिस्त्री नै पाइएको छैन ।’ यही चैत १८ गतेबाट एउटा बस लुम्बिनी–भैरहवा रुटमा चलाइए पनि तेस्रो दिनपछि सञ्चालन रोकिएको उनले बताए । बस सञ्चालनका लागि प्राविधिक अभाव अर्को समस्या छ । बस र भ्यान मर्मत गर्न न कोषसँग प्राविधिक छन्, न त लुम्बिनीआसपास यस्ता सवारी बनाउन सक्ने दक्ष जनशक्ति । चार्जिङ स्टेसनसमेत लामो समय प्रयोगविहीन हुँदा बिग्रिएको छ । अहिले बस चार्ज गर्न भैरहवासम्म ल्याउनुपर्र्ने बाध्यता छ ।

यसबीचमा भ्यानहरू पनि दुरुपयोग भएका छन् । केही अधिकारीले कार्यालय प्रयोजनमा प्रयोग गरे, केही बिग्रिएर ग्यारेजमा थन्क्याइए । हाल छ वटा भ्यान बिग्रिएको अवस्थामा छन्, एउटा बसको सिसासमेत फुटेको छ । यो परियोजनामा सरकारले करिब साढे तीन करोड रुपियाँ भन्सार शुल्कसमेत बेहोरेको थियो । साथै दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान, चार्जिङ स्टेसन, सोलार प्लान्ट र सोलार चार्जिङ स्टेसन निर्माणका लागि झन्डै २८ करोड खर्च गरिएको थियो ।

तीन साताअघि पर्यटन मन्त्रालयले यी बस काठमाडौं ल्याउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि लुम्बिनीमै राखेर सञ्चालन गर्ने पहल पुनः थालिएको हो । लुम्बिनीलाई तिलौराकोट, रामग्राम र देवदहजस्ता बौद्धस्थलसँग जोड्ने यी सवारीसाधन सुचारु भएमा धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । हाल कोषले मन्त्रालयबाट स्पष्ट कार्यविधि र बजेट प्राप्त भएमा सबै सवारी मर्मत गरेर चलाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्