काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले मन्त्रालयमा भेटघाटका लागि जारी गरिएको सूचनालाई लिएर बजारमा फैलाइएको भ्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वार्थ समूहहरूले प्रलोभनमा पार्न नसकेपछि आफूलाई विवादमा तान्ने प्रयास गरेको आरोप लगाए । उनले प्रलोभन असफल भएपछि विवाद सिर्जना गर्ने पुरानो प्रवृत्तिबारे आफूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।
उनले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैँ खुला रहने प्रतिबद्धता जनाएका छन् । अनलाइनबाट भेटघाटको मिति र समय तय गर्ने व्यवस्था प्रविधिमैत्री बनाउन मात्र ल्याइएको स्पष्ट पार्दै अन्य माध्यमबाट पनि भेट्न सकिने बताए ।
उनले भने, ‘भेटघाटका लागि समय आजकै, दुई–चार दिनअघि वा एक घण्टाअघि पनि तय गर्न सकिन्छ ।’ विशेष सुझाव र गुनासोका लागि जुनसुकै बेला मन्त्रालय आउन सकिने भन्दै उनले आफ्नो व्यक्तिगत मोबाइल नम्बर ९८५६०३१६४७ समेत सार्वजनिक गरेका छन् ।
यद्यपि, कामबाहेक मात्र बधाई, शुभकामना वा निकटता देखाउन मन्त्रालय नआउन उनले आग्रह गरेका छन् । उनले काम गर्ने शैलीमा सुधार ल्याउन खोज्दा अनावश्यक विवाद नगर्न आग्रह गरेका छन् ।










