
एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’मा नाकाबन्दी गर्ने तयारी गरेपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो ।
इरानबाट हुने तेल निर्यात पूर्णरूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ । सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ ।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ । दुई साताको अल्पकालीन युद्धविराम पछि शुक्रबार र शनिबार भएको वार्ताबाट शान्ति सम्झौता हुने आशा गरिएपनि वार्ता निष्कर्षविहीन भएपछि बजारमा फेरि अस्थिरता छाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए । यो नाकाबन्दीले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको प्रवाह रोक्ने अनुमान गरिएको छ ।










