Logo
Logo

वीरगन्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ


2k
Shares

काठमाडौं । पर्साको वीरगन्जमा एक प्रहरी जवानको कुटपिटबाट बीभत्स हत्या भएको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–९ मा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया सामूहिक कुटपिटबाट मारिएका हुन्।

घटना सार्वजनिक भएलगत्तै पर्सा प्रहरीले सक्रियता देखाउँदै हत्यामा संलग्न रहेको आरोपमा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ । पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवकहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरेका थिए ।

सूचना पाउनासाथ केही मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरेको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चारजना आरोपीहरूलाई पक्राउ गर्न सफल भएको छ । यद्यपी उनीहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । पर्सा प्रहरीले उनीहरूमाथि सूक्ष्म अनुसन्धान सुरु भइसकेको र घटनाको भित्री रहस्य खोतल्ने काम भइरहेको जानकारी दिएको छ ।

हत्याको पछाडि प्रेम सम्बन्ध मुख्य कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृतक प्रहरी जवानको कुनै एक महिलासँग प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि, घटनाको पूर्ण विवरण र हत्याको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्