Logo
Logo

शाई होपको शतकमा भारतमाथि वेस्ट इन्डिजको शानदार जित


315
Shares

काठमाडौं । वेस्ट इन्डिजले भारतविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । तर पहिलो दुई खेल जितिसकेको भारतले सिरिज भने २-१ ले आफ्नो पक्षमा पारेको छ ।

The current image has no alternative text. The file name is: hope.jpg

न्यु चण्डीगढस्थित पिसिए अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा भारतले दिएको ३५२ रनको लक्ष्य वेस्ट इन्डिजले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । वेस्ट इन्डिजको यो एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमानसमेत बनेको छ ।

वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले अविजित १६२ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले १४३ बलको सामना गर्दै १७ चौका र ३ छक्का प्रहार गरेका थिए । उनको यही शानदार पारीका कारण उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए । होपले आफ्नो शतक १४३ बलमा पूरा गरेका थिए । उनको १६२ रन वेस्ट इन्डिजका ब्याटरले सफल लक्ष्य पछ्याउने क्रममा बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोरसमेत बनेको छ । उनले ब्रायन लाराले सन् १९९३ मा पाकिस्तानविरुद्ध बनाएको १५३ रनको कीर्तिमान तोडेका हुन् । 

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले सुरुवातमै जोन क्याम्पबेललाई गुमाएको थियो । त्यसपछि होपले अमिर जाङ्गुसँग महत्वपूर्ण साझेदारी गर्दै पारी सम्हाले । जाङ्गुले ५६ बलमा ६७ रन बनाए। त्यसपछि अन्य ब्याटरले पनि होपलाई साथ दिएपछि वेस्ट इन्डिजले भारतमाथि दबाब कायम राखेको थियो । वेस्ट इन्डिजका लागि किमो पलले ४४ रन बनाए। भारतका मोहम्मद सिराज, गुरनूर बरार, कुलदीप यादव र नमन धीरले एक–एक विकेट लिए पनि भारतीय बलरले वेस्ट इन्डिजको लक्ष्य पछ्याउने क्रममा ठूलो दबाब सिर्जना गर्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३५१ रन बनाएको थियो । भारतका लागि विकेटकिपर ब्याटर केएल राहुलले अविजित १२९ रन बनाए । उनले ८७ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । यो उनको एकदिवसीय क्रिकेटमा नवौँ शतक हो ।  राहुलले दबाबमा रहेको भारतीय पारीलाई सम्हाल्दै उत्कृष्ट अन्त्य दिएका थिए। भारतले सुरुवाती १० ओभरमा २८ रनमै दुई विकेट गुमाएको अवस्थामा राहुलले पारी सम्हालेका थिए। उनले आफ्नो अर्धशतक ४१ बलमा पूरा गरेका थिए भने अन्तिम चरणमा आक्रामक ब्याटिङ गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याएका थिए । 

भारतका पूर्व कप्तान रोहित शर्माले ९२ रन बनाए भने ऋतुराज गायकवाडले ५७ रन बनाएका थिए । तेस्रो खेल गुमाए पनि भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ ।

अब भारत र वेस्ट इन्डिजले ५ खेलको टी-२० सिरिज खेल्ने छन् । सिरिजको पहिलो खेल अक्टोबर ६ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्