Logo
Logo

बिदा हुँदै आइजिपी अर्याल


2.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले आउदो १८ गते नयाँ संगठन प्रमुख पाउदैछ । त्यसअघि सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले १५ दिन घर विदा बस्न खोजिरहेका छन् । तर गृहमन्त्रालयले उनको यो प्रयासलाई रोकेको बुझिएको छ । उनीपछि सशस्त्र प्रहरी बलमा एआइजी नारापणदत्त पौडेलले संगठन सम्हाल्ने निश्चित भएको छ ।

एसपी, एसएसपी, डिआइजी, एआइजीसम्म नै वरियतामा अघि रहेका पौडेल भावी आइजीपीको रुपमा अघि बढिसकेका छन् । विगतमा जस्तो नेताहरुको घर–घरमा जानुनपर्ने भएपछि अहिलेको सरकारले मेरिट वेशलाई आधार मान्ने अवस्थामा पौडेललाई सहज भएको हो ।

अर्का एआइजी वंशी दाहालले शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दबाबमा आइजीपी अर्याललाई समेत छलेर एआइजीको बढुवा गराएपछि अस्वस्थ प्रतिस्पर्धाको चलेको थियो । अहिले भने त्यो दबाब थेग्नु नपर्ने अवस्था रहेको छ ।

तर त्यसअघि (एपीएफ)मा सात जना नायव महानिरीक्षक (डीआईजी)को पद रिक्त भए पनि सरकारले बढुवा प्रक्रिया नै रोकेको छ । नियमित अवकासमा गएका चार र दरवन्दी थप गरिएका तीन गरी सशस्त्रमा हाल सात डीआईजीको पद रिक्त छ । तर, रिक्त पदपुर्ति गर्न गृह मन्त्रालयले बढुवा प्रक्रिया रोकेर राखेको हो ।

गृहसचिव अध्यक्ष रहेको सिफारिस समितिका आधारमा गृहमन्त्री सतरीय निर्णयबाट डीआइजी बढुवा गर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयले यसको प्रक्रिया नै अघि बढाएको छैन । २ मंसिर २०८२ मा मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गराउँदै प्रशासन (साधारण समूह) तर्फ दुई र कानुन समूहमा एक गरी तीन डीआईजी दरबन्दी थप गरेको भएपनि अहिलेसम्म अघि बढ्न सकेको छैन । गत २३ पुसमा डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ अवकासमा गएका थिए ।

त्यसको दुई महिनापछि १ फागुनमा अर्का डीआईजी कुमार न्यौपानेले पनि अवकास पाएका थिए । यसरी अवकाशमा गएका चार र दरवन्दी थप भई आएका तीनसहित रिक्त सात डीआईजीमा बढुवा रोकिएको हो । रिक्त पदमा बढुवा गर्न सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारकै पालामा प्रक्रिया अघि बढाउन खोजिएपनि सुरु नै गरिएन । डिआइजीमा बढुवा नहुँदा सशस्त्र प्रहरीको वृत्ति विकासमा समेत अप्ठेरो परेको छ ।

१३ चैतमा वालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले पनि बढुवा नगरी रोकेर राखेको हो । नेपाल प्रहरीबाट सेवा स्थानान्तरण भई सशस्त्रमा गएका एक र सशस्त्र प्रहरीकै दुई नम्बर बेसिकका १२ गरी कूल १३ जना प्रतिस्पर्धामा छन् । दुई नम्बर बेसिकका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट भने फागुन २०८१ मै डीआइजीमा बढुवा भइसकेका छन् । सोही ब्याजीका १२ र प्रहरीबाट आएका एकसहित १३ जना यो बढुवामा प्रतिस्पर्धामा छन् ।

आइजीपी अर्याल अवकासमा जानु अघि नै रिक्त पदमा बढुवा गर्ने प्रयासमा महानिरीक्षक अर्याल रहेपनि गृहबाट प्रक्रिया अघि नबढेको हो । अर्याल अवकासमा गएपछि पौडेल र दाहाल नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । यद्यपि पौडेलभन्दा दाहाल वरियतामा पछाडी छन् । सशस्त्रमा रिक्त डीआइजीको बढुवा नयाँ आइजीपी आएपछि गर्नुपर्ने भन्दै गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठलाई दवाव बढाइएको र त्यहीकारण प्रक्रिया अघि नबढेको हुनसक्ने सशस्त्रकै एक अधिकारीको टिप्पणी छ ।

बढुवा रोकिएका कारण सशस्त्र प्रहरी स्टाफ कलेज, नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत, नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली हाल एसएसपीको भरमा राखिएको छ । त्यस्तै सशस्त्र प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गतको निर्देशनालयको नेतृत्व पनि एसएसपीको भरमा छ । त्यस्तै ओएन्डएम संसोधन थप भएपछि प्रशासन तर्फ दुई र कानुन तर्फ एक डीआइजीमा पनि बढुवा हुन सकेको छैन । जसले गर्दा तल्लो तहमा रहेका सशस्त्र प्रहरीका अधिकारीहरुको बढुवा समेत असर गरेको छ । चार महिनाभन्दा बढी समय बढुवा नहुँदा तल्लो तहमा हुने वृत्ति विकासमा समेत असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्