पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ।

कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय विकास चौरसियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गरी निर्घात कुटपिट गरेका थिए। घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अचेत अवस्थामा चौरसियालाई तत्काल अस्पताल पुर्याए पनि बाटोमै उनको मृत्यु भएको थियो।
प्रारम्भिक अनुसन्धानका अनुसार विवाहेतर प्रेम सम्बन्धका कारण घटना भएको बस्नेतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साहको कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण भएको हो।
घटनापछि संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी पत्नी सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारत, उत्तरप्रदेशको अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानले चौरसिया र सोनीबीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले हत्या योजना बनाएको देखिएको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाएर चारै जनाले रड प्रहार गर्दै कुटपिट गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ। घटनाको कारण र अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।











