Logo
Logo

ओली हटाउन छुट्टै दस्तावेज


3.6k
Shares

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाईका लागि गरिएका आन्दोलनहरु प्रभावकारी नभएपछि अहिले पूर्वघोषित आन्दोलनको मोडालिटी फेरबदल गरेको छ । आन्दोलनको मोडालिटीमात्र फेरबदल भएको छैन, एमालेभित्र आन्तरिक विवाद पनि बढ्दै गएको छ ।

ओली अस्पतालमा उपचारको क्रममा रहेका कारण यतिबेला ओली इतर समूहले पार्टी पुर्नसंरचनाका लागि छुट्टै दस्तावेज बनाउन लागेका छन् । त्यसको नेतृत्व यतिबेला विष्णु पौडेलले गरिरहेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारी समूहले तत्कालै कुनै प्रतिक्रिया नजाउने तर छुट्टै दस्तावेज आए त्यसमा गुण र दोषको आधारमा छलफल गर्ने जनाइरहेको बेला पौडेलले आफ्ना केही सहकर्मीहरुसहित पार्टी पुर्नसंरचनाबारे दस्तावेज बनाइरहेको निकट एक नेताको दावी छ ।

ओली हिरासतमा रहेको बेला उपाध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिलाई लिएर एमालेमा ठूलो हलचल आएको थियो । त्यही क्रममा बादलले पार्टीभित्रका प्रतिक्रियावादीहरु सल्बल्याउन थालेको भन्दै एमालेका नेताहरुलाई छुद्र बचन बोलेका थिए ।

त्यसको प्रतिरक्षामा एमालेका नेताहरु लागिरहेका बेला पौडेल लगायतका नेताहरुले ओली हटाउनका लागि छुट्टै दस्तावेज तयार पारिरहेका छन् ।

पछिल्लो पटक मुद्दा चलाउनुपर्ने आधार र प्रमाण फेला नपरेपछि सर्बोच्च अदालतको आदेश अनुसार जिल्ला अदालतबाट हाजिरी जमानीमा ओली रिहा भएपछि एमालेले आन्दोलनको मोडालिटी परिवर्तन गर्दैछ । उनी अहिले टिचिङ अस्पतालमा उपचाररत छन ।

ओली रिहापछि एमालेले आन्दोलनको मोडालिटी पनि परिवर्तन गरेको हो । त्यसक्रममा शनिवारको पालिकास्तरीय बिरोध प्रदर्शनलाई एमालेले चुनावी समीक्षा बैठक, भेला र प्रशिक्षण कार्यक्रममा रुपान्तरण गर्यो ।

अध्यक्षको रिहाईका लागि आन्दोलित एमालेको १७ चैतको बैठकले ३ वैशाखमा वडास्तरीय बिरोध प्रदर्शन र ७ वैशाखमा प्रदेशस्तरीय बिरोध प्रदर्शन र १२ वैशाखमा काठमाडौंमा वृहत्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

एमालेले विकसित घटनाक्रमको सवालमा सबै राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने नीति पनि लिएको छ । त्यसका लागि एमालेले उनीहरुसँग वृहत्त सम्बाद कार्यक्रम पनि आयोजना गर्दैछ । साथै यसअघिको आन्दोलनमा कार्यकर्ता र जनताहरुको साथ रहेको नदेखिएपछि एमालेले आन्दोलनको स्वरुपहरुलाई परिमार्जन गर्दै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्