Logo
Logo

विवादका बीच नेपाली कांग्रेसको ‘जरा अभियान’ सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै मंगलबारदेखि देशव्यापी रूपमा क्रियाशील सदस्यताको अद्यावधिक अभियान सुरु गरेको छ।

पार्टी सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० को वडा कार्यसमितिको कार्यालयमा पुगेर आफ्नै सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक सुरुवात गरेका हुन्।

कांग्रेसले वडास्तरमै पुगेर सदस्यता अद्यावधिक गर्ने अभियानलाई ‘जरा अभियान’ नाम दिएको छ। महामन्त्री गुरुराज घिमिरेका अनुसार विशेष कारणबाहेक सम्बन्धित सदस्यले आफ्नै वडामा पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि पार्टीमा करिब ९ लाख सदस्य रहेको बताइए पनि हालै सम्पन्न निर्वाचनमा धेरै स्थानमा सदस्य संख्याभन्दा कम मत प्राप्त भएपछि वास्तविक सदस्य पहिचान गर्न अभियान सुरु गरिएको जनाइएको छ।

यता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने पुराना सदस्यता खारेज गरेर नयाँ अद्यावधिक गर्न खोजिएको भन्दै अभियानको विरोध जनाएको छ। देउवा समूहका नेता पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा यसअघि वितरण भइसकेका सदस्यतालाई पुनः अद्यावधिक गर्ने प्रक्रिया पूर्वाग्रही र आपत्तिजनक भएको उल्लेख गरिएको छ।

तर महामन्त्री घिमिरेले पुराना सदस्यता खारेज नगरी अद्यावधिक मात्र गरिने स्पष्ट पार्दै सदस्यता नवीकरणमा व्यावहारिक समस्या आएमा आवश्यक लचकता अपनाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्