काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी एकताको औचित्यमाथि प्रश्न उठाएका छन् । माओवादी केन्द्र र एमालेबीचको एकताको स्मरण गर्दै उनले वामपन्थी एकताको बहसमाथि प्रश्न गरेका हुन् ।

यसअघि एकतालाई पद प्राप्ति र व्यक्तिगत स्वार्थका रूपमा टिप्पणी गर्दै पाण्डेले अब केका लागि एकता गर्ने भन्ने प्रश्न गरेका हुन् । ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि सङ्कट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ’, उनले प्रश्न गरेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर, पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’
उनले अहिले एकता भन्दा पनि एमालेलाई कसरी एकताबद्ध राख्ने भन्नेबारेमा सोच्न जरुरी भएको बताएका छन् । विचार र निश्चित गन्तव्य विनाको एकताको अर्थ नहुने बताउँदै उनले अहिले पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान् र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउन आवश्यक भएको बताएका छन् ।
‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौं । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ’, उनले लेखेका छन्, ‘नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ ।’











