Logo
Logo

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा


693
Shares

काठमाडौं । उपसभामुख रुबिना ठाकुरले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । आफूलाई विवाहका धेरै निमन्त्रणापत्र प्राप्त भइरहेको भन्दै उनले तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख भएको देख्न नपाइएको भन्दै दाइजो लेनदेन हुने विवाहमा नजाने निर्णय गरेकी हुन् ।

उनले भनेकी छन्, ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ ।’

उनले दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानूनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन् ।

उनले यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताउँदै समाज परिवर्तनका कुरा गर्दा, देश विकासको सपना देख्दा र सामाजिक कुरीतिविरुद्ध उभिँदा परिवर्तनको सुरुवात आफैँबाट गर्नु पर्ने बताइन् । उनले भनेकी छन्, ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ ।’

उनले दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने र दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरिनु पर्ने बताएकी छन् ।

‘निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानूनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन पनि उनले अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्