Logo
Logo

संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रतिनिधि सभाअन्तर्गतका विषयगत र संयुक्त गरी ११ वटा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।  

बिहीबार रास्वपा सांसदले प्रतिनिधि सभाका नौ वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा उम्मेदवारी दिएका हुन् । प्रतिनिधि सभामा विषयगत १० र संयुक्त दुई वटा समिति छन् । सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेसका भरत खड्काले उम्मेदवारी दर्ता गराएका छन् । 

रास्वपाको तर्फबाट कानुन, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिएका हुन् । 

राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिनिधि र राष्ट्रिय सभाअन्तर्गतको संयुक्त समिति संसदीय सुनुवाई समितिको सभापतिमा वोधनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । अर्को, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा गणेश कार्कीले मनोनयन दर्ता गराएका छन् ।  सोही समितिमा नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले उम्मेदवारी दिएकी हुन् । शाहको प्रस्तावकमा कांग्रेसका जनकराज गिरी र समर्थकमा एमालेका पुष्पराज कडेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्