
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो ।
आज शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरे । जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिममा बहस गरे । बहस सकिएकोले आजै निर्णय आउन सक्ने सम्भावना छ ।
गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो । त्यसपछि आयोगको सो निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए ।











