काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सर्वोच्च अदालतको आदेशलाई पार्टीभित्र कसैको हार र जीत नबन्ने बताएका छन् ।

कांग्रेसको आधिकारिकता विवादको आदेशलाई कसैको जीत र कसैको हारको व्याख्या गर्दै पार्टी एकतामा असर पुर्याउन नहुने सन्देश पौडेलको छ । ”पार्टी एकता खलबलिने वातावरण आउन नदिन हामी सबै चेत र सजग हुन अहिलेको अनिवार्य आवश्यकता हो,” उनले फेसबुकमा उल्लेख गरेका छन् ।
सबै सुरक्षित हुने तरिकाले १५ औँ महाधिवेशन अघि बढ्ने विश्वास उनले कार्यकर्तालाई दिलाएका छन् । शुक्रबार सर्वोच्च अदालतले तीन कारण देखाउँदै कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिएको छ । सर्वोच्चले देउवा पक्षले पदाधिकारीलाई गरेको कारबाही र विशेष महाधिवेशनविरूद्ध निर्वाचन आयोगमा बुझाएको पत्रलाई उजुरी मान्न नसकिने भनेको छ ।
यस्तै, थापा नेतृत्वको कांग्रेसले संसदीय निर्वाचनमा भाग लिएको अवस्थामा त्यसले राजनीतिक वैधता प्राप्त गरेको उल्लेख छ । यस्तै, निर्वाचन आयोगले कानुनी र प्रक्रियासम्मत कार्यसम्पादन गरेकाले निवेदकको रिटकै आधारमा आयोगको काममा हस्तक्षेप गर्न नमिल्ने सर्वोच्चको संक्षिप्त आदेशमा उल्लेख छ ।











