Logo
Logo

पेरिसडाँडामा ४० वर्षमुनिका युवाको ६० प्रतिशत सहभागिता माग गर्दै आमरण अनसन


567
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र युवा नेतृत्वको सुनिश्चितताका लागि दबाब दिँदै पार्टी कार्यालय पेरिसडाँडामा आमरण अनसन सुरु भएको छ। नेकपाका युवा नेता भुवनसिंह विष्टले शनिबारदेखि अनसन सुरु गरेका हुन्।

उनले पार्टीको केन्द्रीय कार्य संयोजन समितिदेखि सेल कमिटीसम्म ४० वर्षमुनिका युवाहरूको ६० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। अनसनरत विष्टले पार्टीलाई ‘वृद्धाश्रम’ बन्नबाट जोगाउन र समयानुकूल गतिशील बनाउन युवा सहभागिता अनिवार्य रहेको बताएका छन्।

विष्टले युवाहरूका माग सम्बन्धमा गत २०८२ चैत २३ गते पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका थिए। त्यसयता भएका पटक–पटकका छलफलमा नेतृत्वले ‘केन्द्रीय समितिबाट निर्णय गर्ने’ भन्दै आश्वासन दिए पनि वैशाख ३ गतेको बैठकले ठोस निर्णय नगरेपछि आफू कठोर संघर्षमा उत्रिन बाध्य भएको उनले बताए।


विष्टले पेरिसडाँडामा कालो ब्यानरसहित पाँच बुँदे मागपत्र सार्वजनिक गर्दै अनसन सुरु गरेका हुन्। अहिले अनसनस्थलमा विभिन्न जिल्लाबाट आएका युवा नेता तथा कार्यकर्ताहरूको ऐक्यबद्धता बढ्दै गएको छ। पार्टी नेतृत्वले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

उनका मुख्य मागहरू यसप्रकार छन्:
– पार्टीका हरेक तह (केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म) मा ४० वर्षमुनिका युवालाई ६० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने।
– तीन महिनाभित्र सम्पन्न गर्ने गरी विशेष महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने।
– महाधिवेशनबाट केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने।
– प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्षमुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने।
– पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस्