काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निर्णय दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफ्ना समूहका शीर्ष नेतासँग छलफलमा जुटेका छन् ।

खड्काले अहिले दिउँसो पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहितको बैठक बोलाएका छन् ।
बैठक गोल्फुटारस्थित खड्काको निवासमा बसिरहेको छ । बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा। शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत छन् । बैठकमा अन्य केही निवर्तमान केन्द्रीय कार्यसमितिका सदस्यहरू पनि रहेको जनाइएको छ ।
निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाएको यो बैठकमा डा। शेखर कोइराला र उनी पक्षधर नेता भने सहभागी भएका छैनन् ।
शुक्रवार सर्वोच्च अदालतले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयलाई सदर गरेको थियो ।
खड्काले आफ्नो समूहका शीर्ष नेतासहितसँग छलफल गरेर भोलि आइतबार आधिकारिक धारणा दिने तयारी गरेका छन् ।











