
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन वितरण गर्ने निर्णय नगरेको दाबी गरेका छन् । मन्त्रीहरुलाई आईफोन दिन लागेका समाचार सार्वजनिक भएपछि मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेका हुन् ।
उनले यो भ्रामक भएको भन्दै प्रश्न गरेका छन्, ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’ मन्त्री तिमिल्सिनाले कुनै पनि कुरा साझा गर्नुअघि स्रोत र विश्वसनियता सुनिश्चत गर्न सुझाव पनि दिएका छन् ।
उनले यो सरकार हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ दाबी गर्दै नागरिकको करको पैसाको दुरूपयोग नगर्ने बताएका छन् । उनले जनताको हरेक रुपैयाँको मूल्य आफूहरुले अनुभूत गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘ शुभप्रभात !
सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?
साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला ।
यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैशाको दुरूपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ । धन्यवाद ।’











