
काठमाडौं । बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ । गएराति भएको वर्षापछि रोशी खोलामा आएको बाढीले सडकको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।
रोशी खोलामा आएको बाढीले काभ्रेको चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन बगाएको छ । बाढीले ह्युम पाइपसमेत बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए ।
बाढीले बगाएको ठाउँमा फेरि अर्को डाइभर्सन बनाउन तीनवटा जेसीभीको सहायतामा काम भइरहेको छ । रोशी खोलामा बाढी आएपछि गएराति १२ बजेदेखि मङ्गलटार, भकुण्डे र काभ्रेभञ्ज्याङ लगायतका ठाउँमा सयौँ सवारी साधन रोकिएका छन् ।
त्यसैगरि सिन्धुलीको नेपालथोकमा पनि सवारी साधन ‘होल्ड’ गरेर राखिएको छ । डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गर्न आइतबार दिउँसोसम्म कुर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।











