
काठमाडौं । अमेरिकी सहायक विदेशी समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान करिब साढे ६ बजे टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके ७२६ बाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । रास्वपाका बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन् ।
अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे । तर, यसपटक भने नेपाल भ्रमणकै लागि मात्र भनेर कपुर अमेरिका बाहिर निस्केका हुन् ।
स्रोतका अनुसार सहायक विदेशमन्त्री कपुर चढेको जहाज बिहान करिब ६ बजेर २० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
काठमाडौं रहँदा उनले बालेन सरकारको आर्थिक प्राथमिकताबारे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफल गर्नेछन । मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टको छिटो कार्यान्वयनमा अमेरिकी चासो रहँदै आएको छ ।











