काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन् ।खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको भनिएको मालवाहक जहाजबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन ।

रोक्न दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले ‘टोस्का’ नाम गरेको जहाजलाई कब्जामा लिएको अमेरिकी राष्ट्रपतिले ट्रुथ सोशलमा उल्लेख गरेका छन् ।
इरानसँगको युद्ध अन्त्यका लागि पाकिस्तानमा हुन लागेको दोस्रो चरणको वार्ता टोलीको नेतृत्व फेरि पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरेलगत्तै ट्रम्पको यो घोषणा आएको हो ।
दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता हुनेबारे अहिलेसम्म पुष्टि गरेको छैन । इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले सहभागिता नजनाउने बताएका छन् ।
ट्रम्पले अमेरिकी नियन्त्रणमा रहेको पानीजहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज जत्तिकै तौलको रहेको उल्लेख गरेका छन् ।
अमेरिकी सामुद्रिक नाकाबन्दी अटेर गरेर जान खोजेको भन्दै ट्रम्पले उक्त जहाजको इन्जिन रहने कोठामा प्वाल पारेर जहाजलाई रोकेको जनाएका छन् ।
‘अवैध गतिविधिको विगतका कारण टोस्का अमेरिकी ट्रेजरीको प्रतिबन्धमा छ । जहाजलाई हामीले पूर्ण नियन्त्रणमा लिएका छौँ र त्यसमा के छ भनेर हेर्दै छौँ,’ ट्रम्पले भनेका छन् । अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको एउटा भिडिओमा अमेरिकी जलसेनाको जहाजले उक्त जहाजलाई रोक्न चेतावनी दिएको र गोली प्रहार गरिएको देखिएको छ ।











