Logo
Logo

जबज अनुरूपको व्यवहार भएन : योगेश भट्टराई 


567
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद अनुरुपको व्यवहार गरे नगरेको प्रश्न उठेको बताएका छन् ।

The current image has no alternative text. The file name is: yogesh.jpg

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन वैशाख ९ गते बहस गर्ने विषयहरू सार्वजनिक गर्दै नेता भट्टराईले  पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथी पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परीक्षामा रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई सही अर्थमा बुझेका छौँ ? भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्- ‘उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक सङ्घर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसँग छ । तर प्रश्न छ के हामीले जबजलाई सही अर्थमा बुझेका छौ ? सोही अनुरूपको व्यवहार गरेका छौ ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौरु यसमा नीति, नेतृत्व, सङ्गठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो ? पार्टी र आन्दोलनको पुनर्जागरण र पुनस्उत्थानको मार्ग के हो ? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गम्भीर बहस गरौँ ।’ 

वैशाख ९ लाई कम्युनिष्ट आन्दोलनका लागि गम्भीर बहस गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन् । नेकपा स्थापना दिवसको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भट्टराईका अनुसार विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ लगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । स्थापना भएको ७६ वर्ष पूरा भई अब ७७औँ वर्षमा प्रवेश गर्न लागेको उल्लेख गरिएको छ ।

उनले पार्टीले यस अवधिमा फुट, विभाजन, एकता र पुनर्गठनका विभिन्न चरण पार गरेको उल्लेख गर्दै सफलतादेखि असफलतासम्मका अनुभव बटुलेको बताएका छन् । साथै पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताले बनाएको विरासत जोगाउने चुनौती वर्तमान नेतृत्वसामु रहेको उनको भनाइ छ ।

भट्टराईले जनताको बहुदलीय जनवादको व्यवहारिक प्रयोग, पछिल्लो निर्वाचनमा आएको धक्का, नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । उनले जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्दै पार्टी पुनर्जागरणको मार्ग खोज्नुपर्नेमा जोड दिएका छन् ।

यस अवसरमा उनले वैशाख ९ गते अपराह्न २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई बहस तथा छलफलमा सहभागी हुन आह्वान गरेका छन् । साथै राजधानी बाहिर रहेका नेता–कार्यकर्तालाई पनि तोकिएको स्थानमा भेला भएर छलफल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्