Logo
Logo

डिआइजी सरुवाको गृहकार्य


9.8k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नृपाल प्रहरीका एक लट सरुवा सूची ल्याउनु भन्दै प्रहरी महानीरिक्षकसँग फाइल मागेका छन् । तर आइजीपीले अहिले सरुवाको समय नभएकाले सरुवा गर्ने समयमा फाइल र सूची दुवै आउने बताएका थिए । तर पछिल्लो पटक नेपाल प्रहरीमा दुई वटा प्रदेशका डिआइजीहरुको सरुवा तयारी भएको छ । अवधि पुगेका र आठ महिना बढी भएका डिआइजीहरुको सरुवा तयारी भएको हो ।

गृहमन्त्री गुरुङलाई मधेश प्रदेशका डिआइजीले काम नगरेको र घुमुवा मार्फत अनावश्यक दुःख दिएको सूचना पुगेपछि सरुवा गर्ने तयारीमा लागेका हुन् । उनीसँगै ओम रानाको पनि सरुवा तयारी भएको छ ।

गृह मन्त्रालयले प्रदेश डिआइजीको कार्यसम्पादन र अवधिको विषयमा चासो राखेपछि उनीहरुको सरुवा तयारी भएको हो । जसअनुसार मधेश प्रदेशका गोविन्द थपलिया तथा सुदूरपश्चिम प्रदेशमा ओम रानाको सरुवा तयारी भएको स्रोतले जनाएको छ ।

मधेस प्रदेशमा कार्यरत उमाप्रसाद चतुर्वेदी तथा सुदूरपश्चिम प्रदेशका डम्बर विक गत असोजमा एआइजीमा बढुवा भएसँगै उनीहरुलाई ती प्रदेशको नेतृत्व गर्न पठाइएको थियो । मधेश प्रदेशमा डिआइजी थपलिया घुमुवा परिचालनमा विवादमा आएका कारण उनको सरुवा तयारी भएको स्रोतको दावी छ ।

यसैगरी गत माघमा सरुवा भएका केही डिआइजीलाई पनि फिर्ता बोलाउनसक्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ । दुई डिआइजीको सरुवा गर्ने तयारी गरेको बेला गत माघमा सरुवा भएका डिआइजीको विषयमा पनि छलफल भएको गृहमन्त्रालयका एक अधिकारीले दृष्टिलाई बताए । आइतबार दिउसो यो विषममा छलफल भएको थियो । गृहमन्त्रालयमा विदाको दिन पनि गृहमन्त्री सुधन गुरुङ, प्रहरी महानीरिक्षक दानबहादुर कार्की तथा मन्त्रालयका सिनियर कर्मचारीहरुबीच छलफल भएको थियो ।

गत माघमा चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको थियो । लुम्बिनीमा भूपेन्द्रबहादुर खत्री, बागमतीमा दीपक रेग्मी, गण्डकीमा दीपेन्द्र जिसी तथा कर्णालीमा जयराज सापकोटालाई पठाइएको थियो ।

त्यसअघि लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, कर्णालीमा माधव श्रेष्ठ, गण्डकीमा दिनेश आचार्य र बागमतीमा अरुण पौडेल कार्यरत थिए । निर्वाचनलाई लक्षित गरी सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। निर्वाचनमा उत्कृष्ट कार्यगरेको भन्दै गृहमन्त्रालयले सबै प्रदेश प्रहरी कार्यालयलाई पुरस्कृत गर्दा कर्णाली प्रदेशका डिआइजी सापकोटा भने त्यसमा परेका थिएनन । सरुवाको बेला आफू कर्णाली पठाइएको भन्दै प्रहरी नेतृत्वप्रति अपशब्द प्रयोग गरेको विषयमा उनीमाथि स्पष्टिकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्