काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल अवकाश जान लाग्दा पनि सीमा क्षेत्रमा हुने तस्करीलाई रोक्न मातहतलाई कडाइ गरिरहेका छन् । यसको पछिल्लो उदाहरण हो तीन एसपीलाई सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सचेत गराइएको छ ।

सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन जना उपरीक्षक (एसपी) लाई तस्करी खुला गराएको उजुरीको आधारमा सचेत गराएका हो । सशस्त्र प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा बोलाएर धनुषा, कैलाली र कपिलवस्तुका एसपीहरूलाई चेतावनीसहित फिर्ता पठाएको हो ।
स्रोतका अनुसार धनुषाका एसपी भीम विष्ट, कपिलवस्तुका एसपी गोपाल अधिकारी र कैलालीका एसपी खुम केसीलाई कमाण्ड तथा कार्यसम्पादनमा देखिएको कमजोरीका कारण सचेत गराइएको हो ।
धनुषामा एसपी विष्ट मातहतका कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । यस्तै कैलाली र कपिलवस्तुमा सशस्त्र प्रहरी र स्थानीय समूहबीच विवाद उत्पन्न भएको थियो । ती घटनामा प्रभावकारी रूपमा कमाण्ड कन्ट्रोल गर्न नसकेको भन्दै सम्बन्धित एसपीहरूलाई स्पष्टीकरणसहित सचेत गराइएको जनाइएको छ ।
प्रधान कार्यालयले आगामी दिनमा यस्ता कमजोरी दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ । साथै सीमाक्षेत्रमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । तत्काल सुधार नदेखिए सम्बन्धित एसपीहरूलाई फिर्ता बोलाउने चेतावनीसमेत दिइएको स्रोतले जनाएको छ ।
नम्बर ८ गण धनुषाका गणपति विष्टलाई धनुषाको लालगढबाट ४० हजार रुपैयाँ नगदसहित सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेको घटनालाई लिएर सशस्त्र मुख्यालय बोलाइएको हो । सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले लालगढबाट घुससहित पक्राउ गरेको थियो ।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएकोमा सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिने क्रममा केही तस्कर समूह सशस्त्र प्रहरीको कार्यालयभित्रै प्रवेश गरी गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलमाथि हातपातको प्रयास गरेका थिए । तर, सो अवस्थामा आवश्यक बल प्रयोग नगरेको तथा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्षसहित सम्बन्धित सबै कर्मचारीलाई सशस्त्र मुख्यालय तानिएको थियो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले यो घटनालाई गम्भीर रूपमा लिँदै त्यतिबेलै विस्तृत छानबिन अघि बढाएको थियो । कमान्डरमाथि आक्रमण प्रयास हुँदा पनि किन बल प्रयोग गरिएन र सुरक्षा व्यवस्थामा किन कमजोरी रह्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको थियो । साथै तस्कर समूह कसरी कार्यालयभित्र प्रवेश गर्न सफल भयो भन्ने विषयमा पनि विशेष चासो व्यक्त गरिएको थियो । यही विषयमा कैलालीका एसपीलाई काठमाडौ बोलाइएको थियो ।
यस अगाडि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकले संगठनको नीतिविपरीत गतिविधिमा संलग्न भएको आशंकामा ती गणपतिहरूलाई मुख्यालय झिकाएको थियो । केही दिनअघि मधेश र लुम्बिनीका सांसदहरूसँग सीमा सुरक्षा र तस्करी नियन्त्रणबारे गृहमन्त्री सुधन गुरुङले गम्भीर छलफल गरेका थिए ।
त्यहीसँगै सशस्त्र प्रहरीले नवलपरासी, रुपन्देही, पर्सा, सिराह र सप्तरीका एसपीलाई पनि निगरानीमा राखिएको छ । सशस्त्र प्रहरीका पर्साका एसपीको विषयमा पनि सशस्त्र मूख्यालयमा उजुरी परेको र छानवीन चलिरहेको स्रोतले जनाएको छ । यस्तै रुपन्देहीका एसपीको विषयमा आएको उजुरीलाई गृहमन्त्रालमा पठाइएको स्रोतले जनाएको छ ।











