काठमाडौं । शिवाता प्रेम प्रतिष्ठानले आयोजना गरेको कला प्रदर्शनी भव्य रूपमा सुरु भएको छ । प्रदर्शनीमा उत्कृष्ट युवा कलाकार डेविड महर्जन लाई “शिवा-रागिनी पुरस्कार” प्रदान गरिएको छ ।

स्व.शिवाता उपाध्याय ग्रेलाको सम्झनामा वि.सं. २०७३ सालमा स्थापित शिवाता प्रेम प्रतिष्ठानले सामाजिक सद्भाव प्रवर्द्धन, शिक्षा तथा मौलिक कला र संस्कृतिको संरक्षण एवं उत्थानमा निरन्तर सक्रियता देखाउँदै आएको छ ।
प्रतिष्ठानको वार्षिकोत्सव तथा स्व. शिवाताको स्मृतिमा हरेक वर्ष आयोजना हुने कार्यक्रम यस वर्ष वि.सं. २०८३ साल बैशाख ९ गते कला प्रदर्शनीको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी वर्तमान अध्यक्ष तथा नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठानकी पूर्व कुलपति रागिनी उपाध्याय ले गर्नुभएको थियो ।
प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राज्ञ नारद मणि हार्तम्छाली उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा श्रीमती संगीता थापा रहनुभएको थियो ।
प्रतिष्ठानले हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ३५ जना भन्दा बढी विद्यार्थी तथा युवालाई शिक्षा र कला क्षेत्रमा छात्रवृत्ति प्रदान गरिसकेको छ । यस वर्षको प्रदर्शनीमा ३१ जना युवा कलाकार हरूले आफ्ना रचनात्मक कृतिहरू प्रदर्शन गरेका थिए ।
प्रदर्शनीमा उत्कृष्ट योगदान दिने युवा कलाकार डेविड महर्जन लाई “शिवा-रागिनी पुरस्कार” स्वरूप नगद राशि रु. १०,०००( दस हजार रुपैयाँ) र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदर्शनी वि.सं. २०८३ साल बैशाख ९ गतेदेखि १५ गतेसम्म(अप्रिल २२ देखि २८, २०२६)चन्द्रमान मास्के हल, नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठान, नक्साल, काठमाडौंमा सर्वसाधारणका लागि खुला रहनेछ ।
शिवाता प्रेम प्रतिष्ठानले युवा पुस्तालाई कला क्षेत्रमा प्रोत्साहन दिने र स्व. शिवाताको सपनालाई जीवन्त राख्ने लक्ष्यका साथ यस्ता सृजनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ ।











