काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउन २० वटा डोजर र १५ हजार प्रहरी परिचालन गर्ने तयारी गरेको छ।

प्रहरीले थापाथलीस्थित सुकुमवासी बस्ती क्षेत्रमा सीसीटीभी जडान गर्ने काम समेत सुरु गरेको छ । बस्ती नजिकका सडक किनारका पोलहरूमा सीसीटीभी जडान भइरहेको हो। सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रमअन्तर्गत सीसीटीभी जडान भइरहेको जानकारी दिए।
सरकारले बागमती नदीकिनारका सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूलाई बिहीबार साँझसम्म बस्ती खाली गर्न सूचना जारी गरेको थियो। प्रधानमन्त्री बालेन शाहले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएपछि शनिबार डोजर चलाउनुअघि नै बस्ती खाली गराउन बिहीबार साँझदेखि माइकिङ गरिएको हो।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सूचनाको अवज्ञा गरेमा संयुक्त कारबाहीका क्रममा भत्काइने संरचना तथा क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्नेछ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदीकिनारमा ३,४९६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन्। तीमध्ये काठमाडौं महानगरभित्र २,२४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ घरधुरी रहेका छन्।
काठमाडौं महानगरपालिकाका तात्कालीन मेयर बालेन शाहले यसअघि पनि बस्ती हटाउन पटक–पटक प्रयास गरेका थिए। मेयरका रूपमा सफल हुन नसकेको उक्त कार्य अहिले प्रधानमन्त्रीको निर्देशनपछि अघि बढाइएको हो, जसअनुसार शनिबार र आइतबारभित्र बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ।











