Logo
Logo

 १४४ सुकुम्वासी परिवार आए सरकारको सम्पर्कमा


378
Shares

काठमाडौं। थापाथली, गैरीगाउँ र  शान्तिनगर क्षेत्रमा नदी किनारका बस्तीमा बसेका कुल १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् ।

The current image has no alternative text. The file name is: sukumbasi-1.jpg

शनिवार बस्ती खालि गराइएपछि उनीहरूको बस्ने स्थान नभएको भन्दै आफ्नो विवरण सरकारमा दर्ता गराएका हुन् । सरकारले सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रङ्गशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरेको जनाएको छ । 

सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ । यस्तै, घरायसी सामानहरू रङ्गशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

सरकारले काठमाडौं महानगर-९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ । ​यसै क्रममा वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिवार बिहान १२:३० बजे खाली गरिएको थियो ।  बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए। बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।

​यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गर्न खोज्दा शनिवार साँझ झडप भएको छ भने सो बस्ती आज खाली गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्