काठमाडौं । सशस्त्र प्रहरीमा डिआइजीको बढुवा गर्दा गृह मन्त्रालयले वरियता, कार्यसम्पादन मूल्यांकन सबैलाई वेवास्था गरेको छ । सशस्त्र प्रहरीको रिक्त ६ डीआईजी र ७ एसएसपीको बढुवा गर्दा वरियता र कार्यसम्पादन मिचेको हो । वरियता र कार्यसम्पादन मूल्यांकनमा अघि रहेका एसएसपीलाई छाडेर बढुवा सूची प्रकासित गरेको छ ।

सशस्त्रको डीआईजीमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की बढुवा भएका छन् । भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी सुधिरजंग थापालाई रोकेर, उप्रेति, पौडेल, कँडेललाई अघि ल्याइएको छ ।
नयाँ सरकारले समेत वरियता र कार्यसम्पादन मिचेकोभन्दै सुरक्षा अंगमा असन्तुष्टि प्रकट भएको छ । कुनै पनि दाग नलागेकालाई बढुवा नगरी हतियार प्रर्दशन गरेर कारवाही भोगेका र नेपाली सेना समेत राष्ट्रिय सुरक्षा खतरा उत्पन्न गराउन खोजेको भन्दै गम्भीर चासो राखेका अधिकृतलाई सरकारले बढुवा गरेको हो ।
हाल बढुवामा सिफारिस भएका उप्रेति झापा तालिमकेन्द्रको एसपी हुँदा सधैँ बिर्तामोड घरमा बसेर युनिट चलाएको भन्दै आरोप लाग्ने गरेको थियो । एसएसपी हुँदासमेत उप्रेती केपी ओलीका बिश्वासपात्र देबेन्द्र दाहालको आडमा सोही तालिमकेन्द्र गएका थिए । पछि पनि तालिमकेन्द्रमा राशनमा बदमासी गरेको आरोप लागेको थियो ।
त्यसैगरी तालिमकेन्द्रमा भएका सबै हतियारबारे बाहिरी व्यक्तिलाई जानकारी गराएको आरोप पनि लागेको थियो । आफूभन्दा तलका कर्मचारीप्रति अनुदार अधिकृत हुन् । उनलाई वरियताभन्दा अघि तानेर बढुवा सिफारिस गरिएको छ ।
सशस्त्रमा एसएसपीमा दीपककुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की बढुवा भएका छन् ।सशस्त्रमा बढुवा खुलेपछि अब १५ भन्दा बढी एसपी, २२ भन्दा बढी इन्स्पेक्टर डीएसपीमा बढुवा हुने भएका छन् । इन्स्पेक्टरमा २२ पद रिक्त छन् । सईका लागि ५५ भन्दा बढी असई बढुवाको प्रतीक्षामा छन् ।
मेरिटका आधारमा बढुवा गर्ने, काखापाखा नगर्ने दाबी गर्दैआएको सरकारले सशस्त्र प्रहरीका अधिकृतहरूको पहिलो बढुवामा नै आफ्नो प्रतिबद्धता लत्याएको हो । २३ महिना सिनियर ३ एसएसपीलाई छुटाएर छ एसएसपीलाई डीआइजी बढुवा सिफारिस गरिएको छ ।
बढुवामा २३ महिना सिनियर तीनजनालाई छुटाएर जुनियर एसएसपीद्वय उप्रेती र कार्की डीआईजी बढुवा सिफारिस हुँदा सशस्त्र प्रहरीमा चरम असन्तुष्टि उत्पन्न भएको हो । सिनियर ब्याचका तिउसिना, केसी र अधिकारीलाई पाखा लगाइएपछि काम गर्नेहरु निराश भएका छन् । एसएसपीद्वय उप्रेती र कार्की संगठनको चेन अफ कमाण्ड नै उल्लंघन गर्दै सिंहदरबार गएको र शक्तिकेन्द्रमार्फत् डीआईजी बढुवामा चलखेल गरेका थिए ।
सशस्त्र प्रहरी बलभित्र बाह्य व्यक्तिसँग भेटघाट गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने स्पष्ट कार्यविधि छ । कुनै पनि कर्मचारीले बाह्य व्यक्तिसँग भेट गर्नुअघि सम्बन्धित विवरण, उद्देश्य र समय खुलाएर स्वीकृति लिनुपर्ने हुन्छ । उनीहरुले यो विधिलाई समेत उल्लंघन गरेका थिए ।











