Logo
Logo

सेनाको निगरानीमा पत्रकार


1.6k
Shares

काठमाडौं । नेपाली सेनाले पत्रकारहरुलाई निगरानीमा राखिरहेको बुझिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले सेनाविरुद्ध दुष्प्रचार गरेको भन्दै ११ वैशाखमा कडा विज्ञप्ति मात्र जारी गरेन यस्ता कार्यको निगरानी गरिरहेको समेत भनेको छ ।

कानूनी कारबाहीको दायरामा ल्याउने समेत चेतावनी दिएको छ । उसले घुमाउरो तरिकाले सेनाविरुद्ध लाग्नेहरुलाई दिएको चेतावनी हो यो । सेनाको विज्ञप्तिले पत्रकारजगतमा खैलाबैला मच्चिएको छ ।

जेनजी विद्रोहका क्रममा सिंहदरबार जोगाउन नसकेको भनी सेनामाथि आरोप लागेको छ । केही मिडियाले खुलेरै सेनाको भूमिकामाथि नै प्रश्न उठाएका छन् । नेपाली सेनाको नेतृत्व नै जेनजी विद्रोह गराउन र सिंहदरबार जलाउने भूमिकामा छद्म रुपमा लागेको सम्म आरोप लगाइरहेका छन् ।

यस्ता खबरहरुले सेनाप्रति कतिपयमा नकारात्मक भाव विकास भइरहेको छ । कतिपय राजनीतिक दलले त खुलेरै सेनालाई आरोप लगाए । एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदको पहिलो बैठकमै सेनामाथि जेनजी विद्रोह गराएको आरोप लगाए । यसले ठूलै खैलाबैला मच्चाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रकाशित नभइसकेको जेनजी विद्रोहसम्बन्धी रिपोर्टमा सेनापति अशोक राज सिग्देललाई समेत दोषी देखाइएको चर्चा छ । यो रिपोर्टका कारण सेनापति सिग्देल निकै तनावमा छन् ।

यदि यही रिपोर्ट सार्वजनिक भएमा सिग्देललाई भविष्यमा विदेश भ्रमण कठिन हुन्छ । २०८४ मा सेवानिवृत्त हुने प्रधानसेनापति सिग्देलका पालामा जेनजी विद्रोह भई पुराना दल र नेताको सत्ता पल्टियो । यसकारण पनि उनी पुरानाको तारोमा छन् । उनीविरुद्ध पुराना दल र नेतानिकट पत्रकारहरु आक्रामक रुपमा प्रस्तुत हुनथालेका छन् । रहस्यमयी लगानीबाट चलेको भनिएका मिडियाहरु पनि सिग्देलप्रति आक्रामक बन्दै गएका छन् । त्यस्ता मिडियाको लगानीबारे सेनाले गहिरोसँग अनुसन्धान गरेको विश्वस्त स्रोतले बताएको छ ।

नेपालमा जर्ज सोरसको मिडियामा लगानीका धेरै तथ्य खुलेका छन् । दशौं करोड लगानी गरेर सोरसको ओपन सोसाइटीले मिडियामार्फत् आफ्नो स्वार्थबमोजिमको सामाग्री विकास मात्र गरेन विगतमा राजनीतिक परिवर्तनहरु पनि गरायो । उसले विश्वभर यही रणनीति चाल्दछ । रोचक त यो छ कि सोरसको सहयोग प्राप्त संस्थासँग आवद्धहरु योजनावद्ध तरिकाले सेनाप्रति आक्रामक बन्दै गएका छन् । धाराबाहिक रुपमा नै सेनाको भूमिकाबारे सामाग्री निर्माण गरी प्रकाशन एवं प्रशारण गरिएका छन् । यसले सेना चिढिएको छ ।

मिडियामा सेनाले निकै गहिरो निगरानी बढाएको देखिन्छ अहिले । विभिन्न नाममा खोलिएका सामाजिक संस्थाहरुले विदेशी संस्थाबाट सहयोग प्राप्त गरी कतिपय पत्रकारहरुलाई आवद्ध गरेका छन् । त्यस्ता संस्थासँग प्रत्यक्ष एवं अप्रत्यक्ष आवद्ध पत्रकारहरुमार्फत् पनि सेनाको भूमिकाका सम्बन्धमा नकारात्मक खबर र टिप्पणीहरु आइरहेको रिपोर्टहरु नेपाली सेनाले तयार गरेको स्रोतले बताएको छ । त्यस्ता व्यक्तिहरुको आर्थिक स्रोत र कनेक्शनबारे पनि सेनाले रिपोर्ट तयार पारेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्