
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक हजारभन्दा बढी परिवारले सुकुम्बासीका रूपमा आफ्नो नाम र विवरण दर्ता गराएका छन् ।
सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन् । मंगलबार मध्याह्ननसम्म १ हजार ७८ परिवारले आफूलाई सुकुम्बासी भन्दै नाम दर्ता गराएका हुन् ।
एउटा परिवारमा औसत चार जना सदस्य छन् । यस अनुसार अहिलेसम्म ४ हजारभन्दा बढीको नाम दर्ता भएको छ । यसमध्ये १५ सयभन्दा बढी बालबालिका छन् ।
आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ । त्यहाँ विवरण टिपाएपछि उनीहरूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टर र माछापोखरी तथा नयाँ बसपार्कका विभिन्न होटल, लजमा लगेर राखिएको छ ।











