Logo
Logo

नयाँ इतिहास रच्ने समय आएको छ : गगन थापा


189
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिवार पार्टी मुख्यालयमा सम्बोधन गर्दै नेपाली कांग्रेसको रूपान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको बताएका छन् । 

उनले आफ्नो जित व्यक्तिगत विजयभन्दा पनि परिवर्तनको पक्षमा उभिएका हजारौँ कार्यकर्ता र नागरिकको विश्वासको जितको रूपमा रहेको बताएका हुन् । 

उनले भने, ‘म कुनै विजयी भावले होइन, एक ठुलो जिम्मेवारीको बोधले यहाँ उभिएको छु । यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वासको विजय हो । यो नेपाललाई नयाँ दिशा दिन चाहने हरेक नागरिकको विजय हो ।’ 

उनले आफ्नो जितलाई पार्टीको आन्तरिक लोकतन्त्रको जित र नयाँ पुस्ताको उदय भएको बताए । सम्बोधनका क्रममा थापाले नेपाली कांग्रेसको गौरवशाली इतिहासको स्मरण गर्दै पार्टीले अब इतिहासको ब्याज मात्र खाएर बस्न नहुने कुरामा जोड दिए । 

‘हामीले हाम्रो इतिहासबाट सिक्नुपर्छ, तर हामी त्यसमा मात्र सीमित हुन सक्दैनौँ,’ उनले भने, ‘हामीले नयाँ इतिहास रच्ने समय आएको छ । हामीले कांग्रेसलाई २१ औँ शताब्दीको आवश्यकता र आकाङ्क्षा अनुरूप ढाल्नुपर्छ ।’

थापाले आफ्नो कार्ययोजनाको खाका प्रस्तुत गर्दै पार्टीलाई थप समावेशी, पारदर्शी र जबाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीको सङ्गठनलाई तल्लो तहसम्म सुदृढ गर्ने, युवा र महिलाको सहभागिता बढाउने, र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने कुरामा जोड दिए । 

‘हामीले पार्टीलाई एउटा परिवारको रूपमा अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘हामीबिच मतभेद हुन सक्छ, तर हाम्रो लक्ष्य एउटै हो -समृद्ध र लोकतान्त्रिक नेपालको निर्माण ।’

थापाले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले सरकारका गलत कदमहरूको विरोध गर्ने र देशको हितमा हुने निर्णयहरूलाई समर्थन गर्ने स्पष्ट पारे। ‘हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्नेछौँ,’ उनले भने, ‘हामी देशलाई सङ्कटबाट पार लगाउन सबै दलहरूसँग सहकार्य गर्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्