Logo
Logo

मरेका छैनन् मन्छे, बनिसक्यो मृत्युदर्ताः वडाध्यक्ष र सचिवसहित ४ जना पक्राउ


1.7k
Shares

रुपन्देही । जिउँदो व्यक्तिको मृत्युदर्ता गराइएको घटनामा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष र वडा सचिव पक्राउ परेका छन्।

The current image has no alternative text. The file name is: pakrau.jpg

जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जना पक्राउ परेका हुन्। प्रहरीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ।

यसअघि नै झुट्टा विवरण पेश गरी मृत्युदर्ता गराउने मुख्य आरोपित सुस्ता गाउँपालिका–५ कै ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका थिए।

अनुसन्धानका क्रममा अन्सारीले सोही वडाका ६६ वर्षीय एक छिमेकीलाई आफ्नै बुवा भनी मृत्युदर्ताका लागि निवेदन दिएको खुलेको छ। तर ती छिमेकी भने ज्यूँदै रहेको प्रहरीले जनाएको छ।

अन्सारीका बुवाको भने २०६० सालमै मृत्यु भइसकेको पुष्टि भएको छ। मृत्युदर्ता गराउन वडाध्यक्ष र सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

मृत्यु दर्ता गरिएका व्यक्तिका छोराले गत वर्ष चैत महिनामा प्रहरीमा जाहेरी दिएपछि यो प्रकरण बाहिर आएको हो। त्यसपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन्। साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना भने अझै फरार रहेका इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। ज्यूँदो व्यक्तिको मृत्युदर्ता किन गरिएको हो भन्ने विषयमा प्रहरीले अझै निर्क्यौल गरिसकेको छैन।

प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्युदर्ता प्रमाणपत्र बनाउने कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्