Logo
Logo

३८ वर्ष प्रवेश


- दृष्टि न्युज/संवाददाता


दृष्टि साप्ताहिक यो अंकदेखि ३७ वर्ष पूरा गरेर ३८ वर्ष प्रवेश गरेको छ । यो ३७ वर्षमा नेपालमा भएका राजनीतिक परिवर्तनको साक्षी हो दृष्टि । २०४६ सालको निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन होस् अथवा २०६२÷६३ को राजा ज्ञानेन्द्रविरुद्धको तानाशाही शासनका विरुद्ध दृष्टि सतिसालझै उभिएको ज्यूँदो इतिहास छ । निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा दृष्टिले महत्वपूर्ण योगदान पु¥याएको छ । आफ्नो स्थापनाकालदेखि अहिलेसम्म निरन्तररुपमा हरेक शासकहरुलाई खबरदारी पनि गर्दै आएको छ । सही सूचना, स्पष्ट विचारबाट जनतालाई सुसूचित गर्दै सभ्य समाजको निर्माण गर्नु दृष्टिको अभियान हो । शोषित, पीडित र श्रमजीवी जनताको जीवनस्तर उठाएर देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनु यसको ध्येय हो । यस ३७ वर्षभित्रको राजनीतिक परिवर्तनले नेपाली जनताको जीवनस्तर कति उठ्यो ? कति उठ्न बाँकी छ ? लोकतन्त्रको माध्यमबाट जनताले के उपलब्धि पाए भन्ने कुराको पनि यतिबेला समीक्षा गरिनुपर्छ । कुनै पनि आन्दोलन वा क्रान्तिमा नेपाली जनताले पटक–पटक जीवन बलिदान गर्नुको अर्थ आफ्नो जीवनमा परिवर्तन ल्याउनु हो । यही आशाले नेपाली जनता लोकतन्त्रको लागि पटक–पटक लड्नु र मर्नु परेको हो ।

विगतमा ३० वर्ष राजाले नेपाली जनतामाथि पञ्चायती शासन लादे । लोकतन्त्रको अभावमा देशले आर्थिक समृद्धिको बाटो समाउन सकेन भनियो । ३० वर्षसम्म प्रतिबन्धित नेपालका राजनीतिक दल र तिनका नेताहरु कोही भूमिगत भए, कोही जेलनेल भोगे । तर, पनि निरंकुशताका विरुद्ध ती राजनीतिक दल र तिनका नेताहरु निरन्तर जुधिरहे । त्यतिबेला जनतालाई निरंकुश शासन व्यवस्थाविरुद्ध चेतना जगाउने काम भने पार्टीनिकट पत्रपत्रिकाले गर्दै आए । त्यही क्रममा दृष्टि साप्ताहिकको जन्म भयो । तत्कालीन नेकपा मालेको अघोषित मुखपत्रका रुपमा प्रकाशित दृष्टि साप्ताहिकले पनि जेल, नेल, भोग्नुपर्ने अवस्था सिर्जना भयो । लुकीलुकी पत्रिका छाप्ने र बाँड्नुपर्ने अवस्था सिर्जना भयो । तर पनि पञ्चायती निरंकुशताका विरुद्ध दृष्टिले आफ्नो विचार, सिद्धान्तलाई छाडेन । र, अहिले पनि ‘दृष्टि’ जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यस उद्देश्य प्राप्तिको लडाइँमा आन्दोलनरत छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाइ सरकारले सिंगो देश हाँकिरहेको बेला दृष्टि किन सरकारको आलोचनामा उत्रियो भन्ने प्रश्न पनि बेलाबखत नउठेको होइन । तर, हामी त्यसप्रति सचेत छौँ र नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दिएको दुईतिहाइ मत सदुपयोग होस् भन्ने चाहन्छौं ।

यतिबेला सिंगो मुलुक र जनता कोभिड–१९ का विरुद्ध जुधिरहेको छ । गरिखाने श्रमिक, मजदुर वर्ग, भोकभोकै सडकमा भौतारिरहेका छन् । मध्यमवर्गीय परिवार आफ्नो गुजाराले परिवार पाल्न, घर भाडा तिर्न र बैंकको ब्याज तिर्न नसकेर छट्पटिरहेका छन् । किसानको पीडा उस्तै छ । समयमा मल पाइँदैन । आफ्नो खेतमा उत्पादित फलफूल, तरकारी खेतमै कुहिएर गएको छ । यस्तो बेला आफैँले दुईतिहाइ मत दिएर सरकारमा पु¥याएको पार्टी जनताप्रति बेखबर छ । त्यसैले गरिखाने वर्गको चित्त कम्युनिष्ट सरकारले दुखाएको छ । गरिब श्रमिक जनताको नाममा राजनीति गर्ने र सत्तामा पुगेपछि बिर्सने सामन्ती प्रवृत्तिबाट जनता आक्रान्त भएका छन् । अब पनि श्रमिक, मजदुर वर्गको हितमा कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकारले काम गर्न सकेन भने तिनै जनताका लागि चौध वर्ष जेल बसेको त्याग र बलिदान व्यर्थ हुनेछ ।

अन्त्यमा, कोरोना भाइरसका कारण चैत ११ गतेदेखि देशभर ‘लकडाउन’ सुरु भयो । त्यसबीच चार महिना दृष्टिको नियमित अंक प्रकाशित हुन सकेन । तर, पनि ‘अनलाइन’को माध्यमबाट जनतालाई सुसूचित पार्ने काममा दृष्टि निरन्तर लागिरह्यो । कोरोनाका कारण यतिबेला ‘दृष्टि’ मात्र होइन, सबै आमसञ्चार पीडामा छन् । श्रमजीवी पत्रकारहरुले समयमा तलब पाउन सकेका छैनन् । उद्योगधन्दा बन्द भएकोले व्यावसायिक विज्ञापनको बजार खुम्चँदै गएको छ । यस्तो बेलामा सञ्चारमाध्यमलाई राहत दिने कुरामा पनि सरकारले कन्जुस्याइँ गरिरहेको छ । सूचना, प्रविधिमा आएको परिवर्तनले जनता बरु भोकै बस्न तयार छन्, सूचनाविहीन हुन सक्दैनन् । त्यसैले अहिलेको ठूलो दायित्व भनेको जनतालाई सही सूचना प्रदान गर्नु हो । आवाजविहीनहरुको आवाज बोल्नु हो । यही कुरालाई आफ्नो जिम्मेवारी ठानेर ३८ औँ वर्ष प्रवेशको अवसरमा हाम्रा सचेत पाठकवर्ग, विज्ञापनदाता र समस्त शुभचिन्तकहरुमा हार्दिक शुभकामना टक्र्याउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्