काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य-मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा जगेर्ना गर्नुपर्ने जोड दिएका छन् । नेता दामन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य समाज र राष्ट्रका लागि घातक रहेको बताए ।

उनले नेपाली काँग्रेसको लेगेसी दामन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्र जस्ता योद्धा तथा विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा आधारित रहेको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धन गर्ने मुख्य जिम्मेवारी पार्टीकै भएको बताए ।
पार्टी सञ्चालनका क्रममा सभापति थापाले सार्वजनिक पदमा रहेका काँग्रेस प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए । उनले कसैले पनि नेता वा पार्टीको नाममा अवैध रकम जम्मा गर्नु नपर्ने र पार्टी लेभी प्रणालीबाटै चल्नुपर्नेमा जोड दिए ।
सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने योजना रहेको समेत जनाकारी दिए । प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने उनले बताएका छन् । यसैगरी, सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिहरूलाई बोलाएर अर्थतन्त्रको वर्तमान संकट र प्रदेशहरूका प्राथमिकताबारे पार्टीले ठोस संवाद गर्ने बताए ।
सभापति थापाले घरभित्रका साथीहरूलाई मात्र नभई काँग्रेस बाहिर रहेको ठूलो जमात र नयाँ पुस्तालाई पनि पार्टीमा आकर्षित गर्नुपर्ने बताए । “८० वर्षका वृद्धदेखि २५–३० वर्षका युवासम्मलाई उचित स्थान दिएर काँग्रेसलाई सबै जाति, समुदाय र उमेर समूहको साझा पार्टी बनाउनु हाम्रो प्राथमिकता हो,” उनले भने । पार्टीभित्र वृहत्तर एकताको आवश्यकता औँल्याउँदै उनले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो रहेको बताए ।











