Logo
Logo

रास्वपा सांसद केपी खनालको घर ऐलानीमा जग्गामा, डोजर चलाउन माग


2.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर बनाएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका-१ बसपार्क नजिकै रहेको घर ऐलानी जग्गामा निर्माण गरिएको भन्दै उनको आलोचना भइरहेको छ । सरकारले देशभर सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना डोजर लगाएर हटाइरहेको बेला खनालको घर पनि भत्काउनुपर्ने माग उठ्न थालेको छ ।

खनालको घर भुइँ तलासहित तीन तल्लाको छ र निर्माण कार्य अझै चलिरहेको छ । खनालको सचिवालयले भने यसलाई राजनीतिक प्रतिशोधको प्रयास भनेको छ । सचिवालयका सदस्य हर्क पुनले सामाजिक सञ्जालमा खनालको बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

‘राजनीतिक प्रतिशोध र बदनियतपूर्ण तरिकाले माननीयज्यूको बदनाम गर्ने काम भइरहेको छ,’ पुनले भने, ‘देशभर सार्वजनिक जग्गा खाली गर्ने अभियान चलेको बेला यो पनि भत्काउनुपर्छ भन्ने होला, तर उहाँका आमा–बुवाले भारतमा रोजगारी गरेर बनाएको घरमा माननीयज्यू बस्न नपाउने भन्ने हुन्छ र ?’पुनका अनुसार खनालको परिवारले लालपूर्जाका लागि भूमि आयोगमा फारम दिएको थियो । नामपासको प्रक्रिया अघि बढे पनि अझै लालपूर्जा प्राप्त भएको छैन । 

लम्कीचुहा नगरपालिका क्षेत्रमा धेरै स्थानीयवासी पनि यस्तै ऐलानी जग्गामा बसोबास गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्