
काठमाडौं । केही दिनयतादेखिको वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।
पहिरोका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले आज बिहान खसेको पहिरोका कारण विभिन्न राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरोध भएको जानकारी दिए ।
त्यस्तै वैशाख १६ गते खसेको पहिरोका कारण सिन्धुपाल्चोक भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको र अहिले सम्म सञ्चालन हुन सकेको छैन ।
यही वैशाख १२ गतेको बाढीका कारणअवरुद्ध भएका भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।
वर्षातको समयमा बाढी, पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आइका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।












