Logo
Logo

एमालेले पूर्ण डिजिटल सदस्यता प्रणाली लागू गर्ने


441
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे छलफल गरिएको हो ।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सङ्गठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको हो । 

बैठकमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको हो ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बताए । त्यस्तै पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको बताए । 

उनले संगठनलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।  सङ्गठन विभागका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ । यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागु गर्ने तयारी गरिएको छ । त्यसैगरी प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सम्बन्धी सहजीकरण गरिने, पार्टीका कामसँग जोडेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइनेछ ।

अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्म सङ्गठनमा आबद्ध नेताहरूको बायोडाटा संकलन तथा अभिलेखीकरण गरिनेछ । यसअघि पार्टी महासचिवको उपस्थितिमा सातै प्रदेशका अध्यक्षहरूसहित सङ्गठन विभागको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्तावसमेत अघि सारेको थियो ।

ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्