Logo
Logo

प्रधानमन्त्री बालेनले भेट नदिएको भन्दै दलित समुदायले थाले आन्दोलन


504
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश व्यक्त गर्दै दलित समुदायले काठमाडौँमा आन्दोलन सुरु गरेका छन् ।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै प्रधानमन्त्री शाहविरुद्ध प्रदर्शन गरेका हुन् ।

सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि आफूहरू सडकमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।

संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिएको बताए । प्रधानमन्त्री शाह आफैँ गृह र रक्षामन्त्रीसमेत रहेको अवस्थामा पीडित परिवारले न्यायको गुहार माग्न जाँदा भेट्नसमेत नपाउनु गम्भीर विषय भएको उनको भनाइ छ ।

घटना खुर्कोट प्रहरी चौकीमै भएकाले छानबिन पनि त्यहीँबाटै सुरु हुनुपर्ने र परिवारका सदस्यले न्यायका लागि मुद्दा दर्ता गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

विरोध प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने सबै प्रकारका हत्या र हिंसाको अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । न्याय प्राप्तिको लडाइँमा सरकार जिम्मेवार नबने आन्दोलन थप कडा बनाउने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्