काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक विषयप्रति भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।

नेपालले आफ्नो धारणा सार्वजनिक गरेपछि भारतीय विदेशी मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको धारणा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् ।
लिपुलेक भङ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि भारतले प्रयोग गर्दै आएको दीर्घकालीन मार्ग भएको उनले बताए। उनका अनुसार यस मार्गबाट यात्रुहरू दशकौँदेखि आवतजावत गर्दै आएका छन् र यो कुनै नयाँ विकास नभएको बताए ।
भारतले एकतर्फी रूपमा भू-भागबारे नेपालले धारणा बनाउनु अस्वीकार्य रहेको बताएको छ। साथै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा विशेष गरी सीमासम्बन्धी बाँकी रहेका मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट रचनात्मक वार्ताका लागि आफू खुला रहेको जनाएको छ ।












