काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कबहादुर राईलाई पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

पूर्वसभामुख देवराज घिमिरेको कार्यकालमा नियुक्त भएका सचिव राईलाई हटाउने उद्देश्यले सभामुख अर्यालले स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण बुझाउने अन्तिम म्याद आज सोमबारसम्म तोकिएको थियो । सचिव राईलाई पदमुक्त गरेपछि सो स्थानमा नयाँ नियुक्तिका लागि सिफारिस गर्ने बाटो खुल्नेछ। संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गर्ने प्रावधान छ।
सचिव राईलाई तत्कालीन सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राई नियुक्त हुनुअघि लामो समय शिक्षण पेसामा आबद्ध थिए ।












