काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुनः पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिरासत प्रक्रियामा त्रुटि देखाउँदै गोल्छालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
सोही आदेशपछि गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुनः नियन्त्रणमा लिइएको हो।
अब उनलाई उक्त बीमा सम्बन्धी कसुरमा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने बताइएको छ ।
उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा गोल्छा समूहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि वैशाख १० गते पक्राउ गरिएको थियो ।












