Logo
Logo

सरकारले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन


441
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले तोकेको मूल्यअनुसार विक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थलगायतका इन्धनहरुको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रष्टयाएका हुन् ।

मंगलवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरुको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।

आम उपभोक्ताहरुले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी गरे । उनले सरकारले उपभोक्ताहरु मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको विक्री नगरेको पनि बताए ।

उनले भने, ‘कस्तो अवस्था छ भने महंगोमा किन्ने अनि सस्तोमा विक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । त्यसो भएर सरकारले यो बाध्य भएर यो मूल्यवृद्धिको कदम चाल्नुपरेको छ । पछिल्लो समय सरकार गठन भएपछि नियमित रुपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ । तर पूर्ण रुपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ । तर सरकारले अलि मूल्य तल नै राखेर काम गरेको छ । लस भएकाले निगमले बोनस वितरण गर्नं पाउँदैन । लगातार ३ वर्ष नाफा आएपछि मात्रै बोनस खाने हो । मैले यति नै अनुरोध गरेँ ।’

सरकारले हाल नेपाल आयल निगमका कर्मचारीहरुलाई बोनस लिने काम नगरेको पनि स्पष्टिकरण दिएको छ । सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरुले बोनस खाने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्