Logo
Logo

सुकुम्वासी समस्याको दीर्घकालीन र मानवीय समाधान गर्न कुलमानको माग


378
Shares

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन् ।

कीर्तिपुरस्थित सुकुम्बासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताएका हुन् । निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुम्बासीहरूको अवस्था निकै कष्टकर रहेको उल्लेख गरे ।

हालसम्म त्यहाँ ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको उनले जानकारी दिए । उनले विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । बसोवासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको घिसिङले बताए ।्

उनले हालैको आत्महत्याको घटनालाई दुःखद् भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न उनले सुझाव दिए ।

अध्यक्ष घिसिङले सुकुम्बासी समस्या देशैभरिको साझा समस्या भएको उल्लेख गर्दै वास्तविक सुकुम्बासी र सरकारी जग्गा हडप्ने सम्पन्न वर्गबीच पहिचान हुनुपर्ने बताए । संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर एकीकृत व्यवस्थापनको खाका ल्याउन सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्