Logo
Logo

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै


189
Shares

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।

प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रूपमा सपना प्रधान मल्ल कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश छिन् । परिषद् बैठकमा कामु प्रधानन्यायाधीश सदस्यको रूपमा उपस्थित नहुने संवैधानिक व्यवस्था छ ।

त्यसैले बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई मात्र आमन्त्रण गरिएको छ ।

सरकारको दोस्रोपटकको सिफारिसमा मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको छ ।

संवैधानिक पदहरूमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ । अध्यादेशमा बैठकमा उपस्थित सदस्यहरूको ५० प्रतिशत अर्थात् ३ जनाको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुने व्यवस्था छ ।

नेपालको संविधानको धारा १२९(३)मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । दुईवटा अपवादलाई आधार मान्ने हो भने सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा सिफारिस र नियुक्ति भएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्