काठमाडौं । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हुलाकीमार्ग अवरुद्ध गरेका हुन् । हुलाकीमार्ग अवरुद्ध हुँदा हुँदा सवारी आवतजावत प्रभावित बनेको छ ।

नेपाल सरकारले २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बरियारपट्टी गाउँपालिका-३ स्थित बरियारपट्टी चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८:३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन् । आन्दोलनरत पक्षले बरियारपट्टी छोटी भन्सार कार्यालय पुन: सञ्चालन गर्नुपर्ने माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । स्थानीयहरूले भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन् । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।












